काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा पाँच दिनसम्म चल्ने बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
बैठकलाई शुभारम्भ गर्दै माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनताले पछिल्लो चरणमा माओवादी नेतृत्वको सरकार गठन भएपछि जनतामा विश्वास उत्पन्न भएको बताएका छन् । उनले केन्द्रीय समितिले जनतामा उत्पन्न भएको आशा र भरोषालाई संगठनमा रुपान्तरण गर्ने अभियानमा बदल्ने विश्वास व्यक्त गरेका छन् ।
प्रचण्डले माओवादी पार्टी, पार्टी जस्तो हुन नसकेको भन्दै पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी बैठकबाटै गर्नुपर्ने धारणा राखेका छन् । पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकारले राष्ट्र र जनताको पक्षमा, सामाजिक न्याय र सुशासनको पक्षमा नयाँ संकल्पको साथ अगाडि बढ्ने पहल गरिरहेको उल्लेख गर्दै प्रचण्डले सरकारले अघि सारेका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाएर राष्ट्र र जनताको आवश्यकता अनुसार अगाडि बढ्न बैठकले सहज वातावरण बनाउने विश्वास व्यक्त गरेका छन् ।
उनले राष्ट्रिय एकता र स्वाधिनतालाई मजबुद बनाउन जरुरी रहेको समेत बताए । प्रचण्डले पार्टी एकतालाई निरन्तर सुदृढ गर्न नसक्नु कमजोरी भएको भन्दै विभाजनको पीडाकाबीच अहिले फेरि नयाँ एकताको प्रयासमा जान लागेको धारणा राखेका छन् ।
केन्द्रीय समिति बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट सय जना गरी जम्मा ७५८ सहभागी रहेका छन् ।