काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने तय भएको छ ।
बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । अध्यक्ष दाहाल गत पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ ।
बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए ।
माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको उनले बताए ।
केन्द्रीय सदस्यहरुले बैठक अवधिभर खाने बस्ने व्यवस्था आफैं गर्नुपर्ने छ । पार्टीले खाजा, पानी र स्टेशनरीको मात्र व्यवस्था गर्ने बताइएको छ ।
पाँच दिनसम्म चल्ने वैठक अवधिभर सहभागीहरुले खाने–बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने छ । बैठक हलको भाडा, मञ्च व्यवस्थापन, केन्द्रीय सदस्यहरुलाई खाजा, पानी, स्टेशनरी, झण्डा, ब्यानर लगायत बैठक व्यवस्थापनका काममा करिब २० लाख खर्च हुने अनुमान माओवादी केन्द्रले गरेको छ । प्रज्ञा भवनको ठूलो हल बुकिङका लागि मात्रै १० लाख भुक्तानी गरिएको बताइएको छ ।
बैठकमा हुने खर्च पार्टीका नेता–कार्यकर्ताहरुको लेबी र केन्द्रीय सदस्यहरुको प्रवेश शुल्कबाट व्यवस्थापन गर्ने माओवादीले जनाएको छ । केन्द्रीय समिति बैठकमा सहभागीहरुलाई जनही पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ जना वैकल्पिक केन्द्रीय सदस्य, ७५ जना केन्द्रीय आयोगका सदस्य र १०० जना प्रदेश पदाधिकारी गरी जम्मा ७५८ जना सहभागी हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।




















