काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएपछि निरन्तर ओरालो लागेको नेप्से, सोमबार सामान्य अंक बढेको थियो ।
तर, नेप्सेले सो गतिलाई मंगलबार निरन्तरता दिन सकेन । फलस्वरुप, यस दिन नेप्से परिसूचक २८.५९ अंक घटेर २०७७.५८ विन्दुमा झरेको छ ।
त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५१ अंक घटेको छ ।
मंगलबार बजारमा २६२ स्टकको ४० हजार ८३७ पटकको कारोबारमा १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ बराबरको ६० लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन ३५ स्टकको मात्र मूल्य बढेको छ । यद्यपि ती स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ ।
त्यस्तै सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.६० प्रतिशत बढेको छ। कारोबारमा आएको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य यस दिन सर्वाधिक ६.५४ प्रतिशत घटेको छ । त्यस्तै सिभिल लघुवित्त र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन अप्पर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको ६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.३५ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।
























