काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ ।
सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकमा समिति गठनका लागि सरकार तयार नभएसम्म सदन चल्न नदिने अडान राखेको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । सदन खुलाउने सभामुखमा पहल गरेपनि सरकार र प्रमुख प्रतिपक्षी दल टसमस नभएपछि वैठक एक हप्ताका लागि स्थगित भएको सचिवालय स्रोतको दावी छ ।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रुपमा भित्रिएको करिब एक क्वीन्टल सुन प्रकरणमा छुट्टै छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग छ । यही माग राखेर एमालेले साउन १० गतेदेखि प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन ।
सत्तारुढ दलहरुले भने सरकारको अनुसन्धान जारी रहेका बेला अर्को छानबिन समिति बनाउने विषय नमिल्ने बताउँदै आएका छन् ।