काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटमा संसदको अवरोध र संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको स्रोतले बताएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटको मुख्य एजेण्डा संसदमा जारी अवरोध हटाउने रहेको बताएका छन् ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसदमा अवरोध गर्दै आएको छ ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बने सदन खुल्ने नत्र विरोध यथावत रहने प्रमुख सचेतक गिरीले बताएका छन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद बैठक बोलाएका छन् । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अवकाश हुँदैछन् ।
अवकाश हुनुभन्दा एक महिना अगाडि नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भएपनि संवैधानिक परिषदले अहिलेसम्म प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छैन ।



















