काठमाडौँ । मौद्रिक नीतिपछि लगातार घट्न थालेको नेप्स सूचक पाँच कारोबार दिनमा नै १२६.८१ अंकले घटेको छ । मौद्रिक नीतिको भोलिपल्टदेखि नै घट्न थालेको नेप्से आइतबार पनि उच्च अंकले घटेर बन्द भएको छ ।
आइतबार नेप्से सूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा झरेको छ । यस दिन २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँ बराबरको ६८ लाख ६० हजार ४२ कित्ता शेयर कारोबार भएको छ ।
२२०० विन्दुमाथि पुगेको नेप्से सूचक पछिल्लो पाँच दिनदेखि लगातार घट्दो क्रममा छ। आइतबार नेप्से सूचकले २१०० को सपोर्ट परीक्षण गरेको छ । कारोबार समयमा २१०० तल झरेको भए पनि अन्तिममा भने २१०० विन्दु माथि नै बन्द भएको छ ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्ड बाहेक १२ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.३२ प्रतिशतले घटेको छ ।
यस दिन कारोबारमा आएका १८ वटा कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । जसमा पिपुल्स पावरको शेयरमूल्य सबैभन्दा धेरै ३.५६ प्रतिशतले बढेको छ भने सुपर माइ हाइड्रोपावरको ३.०६ प्रतिशत र सिनर्जी पावरको १.८० प्रतिशतले बढेको छ।
यता मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.७८ प्रतिशतले घटेको छ भने अभियान लघुवित्तको ६.५७ प्रतिशत र हिमालयन लघुवित्तको ५.१४ प्रतिशतले घटेको छ ।
यस दिन शिवम् सिमेन्टको सबैभन्दा धेरै १४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टी होटलको ११ करोड ९९ लाख, एभरेष्ट बैंकको १० करोड २० लाख र हिमालयन डिस्टिलरीको ६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।




















