काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने सुझाव दिएका छन् ।
नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट साउन १६ गतेसम्मको समयसीमा दिएपछि दलहरु नयाँ सरकारका लागि वहुमत जुटाउन दौडधुप गरिरहेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वका दुवै गठवन्धनलाई वहुमत जुटाउन हम्मे परिरहेको छ । एमाले नेतृत्वको गठवन्धन कांग्रेस नेतृत्वको गठवन्धन फुटाएर वहुमत पुर्याउन खोजिरहेको छ भने कांग्रेस नेतृत्वको गठवन्धनले पनि एमाले गठवन्धनमा रहेको राप्रपालाई आफूतिर तान्न वार्ता गरिरहेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग कोशीमा प्रदेशमा सत्ता सहयात्राको लागि वार्ता गरेका छन् । तर राप्रपाले स्पष्ट जवाफ दिइनसकेको बताइएको छ ।
राप्रपाको साथ खोजेको कांग्रेस गठबन्धनले कोशीका नेताहरुलाई छलफलका लागि काठमाडौंमा बोलाएको छ । तर डा. भट्टराईले भने यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त हुने बताएका हुन् ।
भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’
जोसँग जसरी पनि मिलेर सरकार बनाउन खोजेका दलहरुको प्रयासलाई भट्टराईले सत्ता लिप्साको संज्ञा दिएका छन् ।
नेकपा एमालेका नेता हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर गत बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको थियो । सर्वोच्चले संविधानको धारा १६८ (२) बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।
१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु…
— Baburam Bhattarai (@brb1954) July 29, 2023




















