काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट साउन २ गते बरामद गरिएको करिब एक क्विन्टल सुन प्रत्यक्ष प्रसारण गरेर गाल्ने तयारी राजस्व अनुसन्धान विभागले गरेको छ।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समा कार्गोमार्फत स्कुटरको ब्रेक सु मा लुकाएर ल्याइएको सुन गालेर सर्वसाधारणलाई यसबारे प्रत्यक्ष जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ ।
यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि जानकारी गराइसकिएको र उनी इटालीबाट फर्केपछि प्रत्यक्ष प्रसारण गरेर गालिने स्रोतले जानकारी दियो ।
यसलाई सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रियाबारे पनि विभागले राष्ट्र बैँक र सम्बन्धित टेलिभिजनसँग पनि बुझिसकेको छ ।
राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सारको हाताबाट २ साउनको साँझ ५ बजे सुनसहित २ जनालाई पक्राउ गरेको थियो ।
हङकङबाट नेपाल ल्याएको तस्करीको सुन प्रकरणमा बुधबार साँझसम्म राजस्व अनुसन्धान विभागले एक चिनियाँ र एक भारतीय नागरिक सहित १७ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

























