काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नैतिकतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठक सुरू हुनेवित्तिकै नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका दाहालले सुन तस्करीमा उच्च तहको नेतृत्व संलग्नता रहेको दावी गर्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हु्न् ।
सुन प्रकरणको अनुसन्धानलाई छिटो अगाडि बढाउनुको साटो कुनै जवाफदेहिता लिनु नपर्ने गरी गृहमन्त्री श्रेष्ठ निकै फुर्तिफार्तिका साथ विमानस्थल गएको भन्दै आपत्ति जनाए ।
उनले विमानस्थलको सुरक्षा र भन्सारको सुव्यवस्थाका सम्बन्धमा गृहमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने होइन ? भनी प्रश्न गरे। विमानस्थलबाट सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री, विमानस्थलका प्रमुख र भन्सारका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए ।
बरामद सुन कर्मचारीको मिलेमतोमा मात्रै तस्करी हुन नसक्ने उनले दावी गरे ।
उनले नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको बतए । सरकारले नै गैरकानुनी रूपमा नेपालमा सुन भित्र्याउने नाइकेको संरक्षण गरिरहेको उनको आरोप छ ।




















