काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
काठमाडौँमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भयो ।
भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्त्व दिँदै उपल्लो स्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरेका छन् ।
“सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ”, उनले भने, “द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।”
सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको उल्लेख गर्दै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने बताए । उनले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालीन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धी र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिएका छन् ।
हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै उनको भनाइ छ । सभामुख घिमिरेले नेपाल आउने पर्यटकको मुख्य हिस्सा चीनको रहेका उल्लेख गर्दै जसले नेपालको पर्यटन उद्योगमा टेवा पुर्याएको बताएका छन् ।
सभामुख घिमिरेले जन गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्ष ली चानशुको गएको वर्ष भएको भ्रमण र नेपालको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको एक महिनाअघि भएको भ्रमणले संसदीय आदान प्रदान विस्तारित हुँदै गएको बताए ।
चीन संसारको आर्थिक शक्ति रहेको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाललाई अन्नको भण्डार बनाउन नमूना कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरेका छन् । उनले चीन नेपालको भरपर्दो विकास साझेदार रहेको बताए ।
सीपीसी नेता यान च्याचिनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताएका छन् ।
उहाँले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा गरे । नेता च्याचिनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तो समेत दिए ।
आज नै एलआरआई स्कुल कलङ्कीमा भएको कार्यक्रममा सभामुख घिमिरे र नेता च्याचिनले भाषा ल्याबको सुरुवात गरेका छन् ।