काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार कार्यालयका भन्सार अधिकृतसहित ६ जना पक्राउ परेका छन् ।
आइतबार राजस्व अनुसन्धान विभागको टोलीले भन्सार अधिकृत सन्तोष चन्दसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भन्सार अधिकृत चन्दसहित खरिदार एवम् जाँचकी कुमार ढकाल, एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् भने सुन भन्सार पास गराउन भूमिका खेल्ने भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई पनि पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।
यस प्रकरणमा संलग्न अन्यको खोजीकार्य जारी रहेको पनि बताइएको छ ।
यसअघि गत मंगलबार, बुधबार र बिहीबार विभागको टोलीले सुन तस्करी संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ ।
गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत एक क्वीटल सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।

























