काठमाडौँ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी अर्थात् भारततर्फ गोली हानी महिलाको हत्या गरिएको छ ।
धनुषा जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमका अनुसार मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुले प्रहरीमा खखर गरेका थिए । ती महिला नेपाली हुन् कि भारतीय भन्ने नखुलेको धनुषा प्रहरीले जनाएको छ ।
भारतीय भूमिमा घटना घटेका कारण शव पोस्टमार्टमका लागि भारतीय प्रहरीले लगेको बताइएको छ ।
गोली हान्ने व्यक्तिहरू पनि भारततर्फ नै भागेका छन् । महिलाको पहिचान नखुलेकाले उनी भारतीय नै हुन् वा नेपाली थाहा हुन सकेको छैन ।
नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताएका छन् । उनका अनुसार दशगजा क्षेत्रमा प्रहार भएका गोलीका खोका भेटिएका छन् ।
























