काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् । नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) ले पनि विभिन्न कार्यक्रम गर्दै छ भने पुष्पलाल स्मृति उद्यानमा नेकपा (एकीकृत समाजवादी)ले एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरूले पनि विभिन्न कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाउँदैछन् ।
विसं २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए ।
पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
नेकपा स्थापना गर्नुअघि उनले विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए।
विसं १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मिएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित छन् । जनमतका हिसाबले ठूलो हिस्सा कम्युनिस्ट र वामपन्थी भएपछि विभिन्न टुक्रामा विभक्त हुँदा उनले देखेको सपना पूरा हुन नसकेको गुनासो कायमै छ ।
सहिद गंगालाल श्रेष्ठका माइला भाइसमेत रहेका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही विरोधी आन्दोलनमा सक्रिय भएका थिए। पुष्पलाल राजनीतिमा लागेकै कारण पीता भक्तलालललाई सुब्बाको जागिरबाट तत्कालीन सरकारले बर्खास्त गरेको थियो ।
विसं २०१७ को राजा महेन्द्रको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन बिताएका थिए। सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ।
संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ । पुष्पलाललगायतका शीर्ष कम्युनिस्ट नेता तथा कार्यकर्ताको सपना पूरा गर्ने लक्ष्यका साथ एकीकृत कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरिएको भए पनि त्यसले मूर्तता पाउन नसकेको र बलियो पार्टी नबन्दासम्म समाजवादको लक्ष्य पूरा हुन नसक्ने नेताहरुको भनाइ छ ।