काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली भ्रमणमा जाँदै छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन उनी इटाली जान लागेका हुन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज साँझ त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री दाहालले इटली भ्रमणको बेला मानव अधिकारवादी र रोम निवासी नेपालीको गम्भीर प्रश्नको जवाफ दिनुपर्ने भएको इटलीस्थित ‘मार्गदर्शन’ सूत्रले जनाएको छ ।
प्रम ‘प्रचण्ड’ को भ्रमण विवादास्पद हुने बताइएको छ । सूत्र भन्छ, सत्रहजार नेपालीको ज्यान गएको दशबर्षे विद्रोहका क्रममा मारिएका मध्ये पाँच हजार मानिसको हत्याको दायित्व लिन्छु भनेर प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिबारे त्यहाँका मानव अधिकारवादीहरुले प्रश्न उठाउने भएका छन् । यसले नेपालमा विधिको शासन छैन र प्रजातान्त्रिक पद्धति नै संकटमा परेको सन्देश जाने भएको हुँदा दाहालको भ्रमण कूटनीतिक दृष्टिकोणले असफल र प्रत्युत्पादक हुने देखिन्छ ।
इटलीमा बसोबास गरिरहेका केही नेपालीले प्रम दाहालविरुद्ध प्रदर्शन गर्ने बताएका छन् । यसले युरोपमा नेपालबारे नकारात्मक सन्देश जाने बताइन्छ। हाल इटलीमा दुई हजार पाँचसय नेपाली छन्।
संयुक्त राष्ट्रसंघले साउन ८ देखि १० गतेसम्म आयोजना गर्ने खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रम दाहाल आज इटली जाने उनको सचिवालयले जनाएको छ ।
उनका साथ कृषि मन्त्री बेदुराम भुसाल लगायतका उच्चपदस्थहरु त्यसतर्फ जाने बताइएको छ । भ्रमण दलमा प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहाल पनि सहभागी हुने समाचारमा उल्लेख छ।
सम्मेलन केन्द्र र प्रधानमन्त्री बस्ने होटल अगाडि प्रदर्शन हुन सक्ने सूचना पाएपछि सुरक्षाको थप प्रवन्ध गर्न लागिएको रोमस्थित ‘मार्गदर्शन’ सहयोगीले जनाएका छन् ।