काठमाडौँ । व्यवसायी दीपक मल्होत्राले त्रिभुवन विमानस्थलमा बाहिरिएर सिनामंगलमा वरामद भएको सुनमा आफ्नो हात नभएको स्पष्ट पारेका छन् ।
त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि व्यवसायी मल्होत्राले बिहीबार पत्रकार सम्मेलन गरेर सो सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका हुन ।
सञ्चारमाध्यममा फोटोसहित उक्त सुनमा आफ्नो हात रहेको भन्दै समाचार आएकोमा आपत्ति जनाउँदै उनले त्यसमा कुनै सत्यता नभएको दावी गर्दै त्यस्तो तथ्यहिन, कपोकल्पित समाचार प्रकाशित गरेर चरित्र हत्या गर्नेविरुद्ध कानुनी प्रक्रियामा जाने मल्होत्राले बताएका छन् ।
आफू र आफ्नो परिवारले नेपालको कानुन बमोजिम व्यापार व्यवसाय सञ्चालन गरेको बताउँदै मल्होत्राले आफ्नो सम्पूर्ण व्यापार व्यवसाय र सोबाट हुने आम्दानीको विवरण सरकारी निकायमा बुझाएको बताएका छन् ।
आफूले दोस्रो व्यक्तिलाई प्रयोग गरेर व्यापार व्यवसाय नगरेको स्पष्ट पार्दै व्यवसायी मल्होत्राले सञ्चार माध्यममा उल्लेख गरिएका कुनैपनि व्यक्तिसँग सम्बन्ध त के चिनजान समेत नभएको बताएका छन् ।
व्यवसायिक जीवनलाई क्षति पुग्नेगरी आफूविरुद्ध समाचार आएकोमा खेद व्यक्त गरेका छन् ।
सुन तस्करीको गिरोहलाई जोगाउनका लागि आफ्नो नाम चर्चामा ल्याएको हुन सक्ने उनको दावी छ ।
आफूले २०५५/५६ सालसम्म भन्सार तिरेर वैध तरिकाले सुनको व्यापार गरेको तर त्यसपछि त्यो छाडेर अन्य व्यापारमा लागेको मल्होत्राले बताएका छन् । अहिलेको प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए कानूनबमोजिम सजाय भोग्न तयार रहेको उनले बताएका छन् ।
व्यवसायी मल्होत्राले सम्मानित व्यक्तित्वहरुसँग खिचेको तस्बिर सामाजिकमा दुरुयोग भएको प्रति पनि दुःख व्यक्त गरेका छन् । आफू नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्ष रहेको र व्यापारिको समस्या लिएर नेताहरुकहाँ जाँदा खिचिएका तस्बिरलाई सामाजिक सञ्जालहरुमा अनर्गल स्टाटर्स लेख्दै प्रचार गरिएको चिन्ता व्यक्त गरेका छन् ।
आफूले मोबाइल फोन मात्र आयात गर्ने बताउँदै व्यसायी मल्होत्राले आफू भन्सार कार्यान्लय नगएका २५ वर्ष भएको बताउँदै आफ्नो सामान भन्सार एजेन्टले नै छुटाएर ल्याउने गरेको स्पष्ट पारेका छन् ।



















