काठमाडौँ । सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बनमा परेका छन् । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताएका छन् । बरामद भएको सुनको परिमाण एकिन भइसकेको छैन । विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ ।
सुनको भन्सार पासमा संलग्न देखिएकाले भन्सार अधिकृत सन्तोष चन्द र एक नायब सुव्वालाई निलम्बन गरिएको विभाग स्रोतले जनाएको छ ।
बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सो सुन तस्करीमा संलग्न भएकाहरु मध्ये हालसम्म ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एक जना भन्सार एजेन्टसमेत रहेका छन् ।
उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी रहेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताएका छन् ।
सुन ओसारपसारमा संलग्न आरोपमा हालसम्म दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङलगायतलाई नियन्त्रणमा लिइएको भन्सार स्रोतले बताएको छ ।
विभागका अनुसार दिलिप भुजेल सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक हुन भने राम कुमार भुजेल उनका मामा हुन । उनले सुन पास गराउन सहयोग गरेका थिए । राई भुजेलको कम्पनी स्थापना गर्न सघाउने व्यक्ति भएको बताइएको छ ।
























