काठमाडौँ । राजस्व अनुसन्धान विभागले बुधबार झण्डै एक सय किलो सुन बरामद गरेको थियो । सो सुन तस्करीमा संलग्न भएकाहरु मध्ये हालसम्म ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एक जना भन्सार एजेन्टसमेत रहेका छन् ।
उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी रहेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताएका छन् ।
सुन ओसारपसारमा संलग्न आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङलगायतलाई नियन्त्रणमा लिइएको भन्सार स्रोतले बताएको छ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।
विभागले सुन बरामद गरेसँगै दुई जना पक्राउ गरेको थियो थियो भने आज बिहानसम्म थप चार जना पक्राउ गरेको बताइएको छ ।
सुन हङकङबाट ल्याइएको खुलेको ढुंगानाले बताएका छन् । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।
























