काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार वुढाथोकीले कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर प्रश्न गरेका छन् । केन्द्रीय समिति वैठकमा बोल्दै कांग्रेसका पुराना र अनुभवी नेता वुढाथोकीले कोशी प्रदेशको हालै भएको सरकार गठनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । सभामुखको मत समेत गनेर संख्या पुर्याएको प्रति इंगित गर्दै नेता वुढाथोकीले ‘रेफ्रिले गोल हान्न मिल्छ ?’ भन्ने प्रश्न गरेका छन् । उनले गलत प्रक्रियाबाट नियुक्ति भएको मुख्यमन्त्रीले आफूहरुले मुख्यमन्त्री मान्ने कि न मान्ने पार्टीले स्पष्ट गर्नुपर्ने बताएका छन् ।
झापाका केन्द्रीय सदस्य बुढाथोकीले कोशी प्रदेशको नामका बारेमा भइरहेको विवाद र पहिचान पक्षधरहरुको आन्दोलनबारे कांग्रेसको धारणा आउनु पर्ने बताएका छन् । पहिचानपक्षधरहरुसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
त्यस्तै उनले पार्टीका भ्रातृ संस्थाहरु केन्द्रीय पदाधिकारी र नेताहरुका छोराछोरी, श्रीमती, आफन्तको व्यवस्थापन संस्था जस्तो भएको भन्दै आफ्ना छोरा, श्रीमतीलाई पनि भ्रातृ संस्थामा राखिदिनु पर्यो भन्दै कडा व्यंग्य गरेका छन् ।
केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि ७ मिनेटको समय दिइएको थियो । एक वर्षमा वैठक भएकाले बोल्ने कुरा धेरै भएको भन्दै समय थप्न माग पनि गरेका थिए । तर सभापति शेरबहादुर देउवाले थप समय नदिएपछि नेता वुढाथोकी आक्रोशित भएका थिए ।
























