काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक हिजोदेखि सुरु भएको छ । आज ११ वजे बस्ने वैठकबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम सुरु हुने छ ।
प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको बताइएको छ ।
केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राखेका थिए भने अर्का महामन्त्री गगनकुमार थापाले पार्टीको कार्य योजना प्रस्तुत गरेका थिए ।
बैठकमा गोपालमान श्रेष्ठले निर्वाचन परिचालन समितिको प्रतिवेदन, आनन्द ढुंगानाले अनुशासन आयोगको प्रतिवेदन पेस गरेका थिए ।
त्यसै गरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।