काठमाडौँ । क्वालालाम्पुर-भैरहवा-काठमाडौँ उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।
निगमको आरए ४२२ उडान भर्नु अगाडी ९एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो ।
के-कस्तो प्राविधिक कारणले यो समस्या आएको हो र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन निगमले एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताएको छ ।
ककपिटमा हुने सिलिन्डरमा अक्सिजन अभावले निगमको सगरमाथा नामको न्यारोबडी मलेसियामै ग्राउडेड भएको निगमले विज्ञप्ती मार्फत् जनाएको थियो। निगमले ७ दिनदेखि काठमाडौँमा ग्राउन्डेड भएको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की (नेपाली नाम सगरमाथा) भएको विमानलाई आइतबार भारतीय इन्जिनियरहरू झिकाई मर्मत गरेर मलेसिया उडाएको थियो ।
विमान अभावले आइतबारको मलेसिया उडान रद्द हुदा सयौं यात्रुलाई निगमले आफ्नै खर्चमा काठमाडौँमा होटलमा राखेर केहीलाई सोमबारको उडानमा यसै विमानबाट मलेसिया पठाएको थियो। यो विमान मलेसियाबाट भैरहवा हुँदै बिहान ९ बजेर ३५ मिनेटमा काठमाडौँ अवतरण गर्ने तालिका थियो ।

























