काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धर्मपत्नी स्वर्गीय सिता दाहालको निधन भएको सातौँ दिनमा आज प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो ।
श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शोकको घडीमा सबैको समवेदना र साथले पिडाबाट निस्कन आफूलाई मदत पुगेको बताएका छन् । अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली उनले पाएको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको प्रचण्डले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले धर्मपत्नी सिता दाहालले जीवित हुँदा कसैलाई दुख नदिएको तथा मृत्युको क्षणमा पनि कसैलाई पीडा नदिएको उल्लेख गर्दै स्वर्गीय दाहालको उपचारका लागि राज्यबाट कुनै सुविधा नलिइ सम्भाव भएसम्म सवै विधि, प्रक्रियबाट उपचार गरिएको प्रष्ट पारेका छन् ।
उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीवोध गराएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक, साँस्कृतिक असमानताको अन्त्य गर्न मैले मेरो बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा पनि जनताको अपार समर्थन र यहाँहरु सबैको सदभाव र समवेदनाले व्यक्त गरेको हामीले महसुस गरेका छौं ।’
प्रधानमन्त्री प्रचण्डले स्वर्गीय सिता दाहालको उपचारमा संलग्न सबै चिकित्सकलाई धन्यवाद समेत दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले शोकको घडीमा मित्रराष्ट्र, कूटनीतिक जगत, राजनीतिक दल, सञ्चारकर्मी, कर्मचारी, सुरक्षाकर्मी, साहित्यकार, बुद्धिजीवीलगायत सबैले दिएको समवेदना र सहानुभूतिले पीडामा मलम लगाउन सहयोग गरेको भन्दै आभार र धन्यवाद व्यक्त गरेका छन् ।
श्रद्धाञ्जली कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व उपराष्ट्रपतिहरू, पूर्व प्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, उपप्रधानमन्त्रीहरू, नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक आयोगका पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू, सांसदहरु तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र शुभेच्छुकहरूको उपस्थिति थियो ।
श्रद्धाञ्जली कार्यक्रममा सम्झनामा ‘कमरेड सिता दाहाल’ नामक वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
सीता दाहालको उपचारका क्रममा गत असार २७ गते नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो ।