काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका एजेन्डाहरु तय गरेको थियो ।
बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।
यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको शर्माले जानकारी दिएका छन् ।
दुईदुई महिनामा बस्नु पर्ने वैठक एक वर्षको अन्तरालमा बस्न लागेको हो । यसअघि मिति तय भएर पनि बैठक स्थगित हुँदै आएको थियो ।
यस्तो छन् बैठकका एजेन्डा :
१. समसामयिक विषय ।
२. सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।
३. कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन ।
४. पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।
५. नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।
६. विभाग गठनसम्बन्धी प्रस्ताव ।
७. एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।
८. अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव
९. प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।
१०. सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने ।