काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर नुवाकोटस्थित डम्पिङसाइड पुगेका टिपर बाटोमै रोकिएका छन् ।
ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका टिपरलाई सिस्डोल र बन्चरेडाँडाको बीचमा पर्ने आलेटारमै रोकेका हुन ।
डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको ककनी गाउँपालिका–३ का वडाअध्यक्ष घननाथ बजगाईँले बताएका छन् ।
धुनिबेँसीका मेयर बालकृष्ण आचार्य आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर फ्याक्न अवरोध गरिएको स्पष्ट पारेका छन् ।
नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार ५०० रूपैयाँ लिने विषय गाउँसभाबाट पारित गराएको थियो । तर, अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीयको स्वास्थ्य महत्वपूर्ण भएकाले फोहोर नै फाल्न नदिने जनप्रतिनिधिहरूले बताएका छन् ।
यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको स्थानीयको गुनासो छ । फोहोर बोकेका करिब ५० वटा गाडी स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका ल्याण्डफिल्ड साइट इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिएका छन् ।
सहमतिका नाममा आफूहरुलाई पटक–पटक झुक्याइएको स्थानीयको आरोप छ । सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र विसर्जन गर्नेलगायतका सहमति ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दासँग गरेको थियो । तर अहिले महानगरले वर्गीकरणविना फोहोर संकलन गर्दै आएको छ ।


















