काठमाडौं । केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक बोलाएका छन् ।
आज दिउँसो २ बजे पार्टी सभापति देउवाको निवासमा धुम्बाराहीमा बस्न लागेको बैठकले साउन २ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने एक नेताले जानकारी दिएका छन् ।
कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने तयारी गरिए पनि तयारी नपुगेको भन्दै साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गरेपछि मंगलबार बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग फेरि छलफल गर्ने तयारी समेत गरेको एक नेताले बताएका छन् ।