काठमाडौं । आज देशका सवै प्रदेशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) हुनेछ भने मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । यस क्रममा कोशी र बागमती प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ भने राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाका अनुसार सोमबारदेखि वर्षा बढ्ने सम्भावना छ । तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकाले हावाहुरी, भारी वर्षा, मेघगर्जनरचट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


















