काठमाडौं । आज पनि सबै प्रदेशमा पानी पर्ने तथा तराईका थोरै स्थानमा हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा, चट्याङ, बाढी, पहिरो तथा हावाहुरीको प्रवल सम्भावना भएकाले हुनसक्ने क्षतिबाट जोगिन सुझाव दिँदै महाशाखाले २४ घण्टाका लागि चेतावनी पनि जारी गरेको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यतिबेला कोशी, बागमती र गण्डकीका थोरै भूभाग तथा मधेशको पूर्वी भूभागका एक/दुई स्थानमा वर्षा भइरहेको छ कोशी र मधेशको पूर्वी भूभागका एक/दुई स्थानमा भारी वर्षा भएको छ ।
सुनसरीको इटहरि र मोरङका लेटाङ र हरैँचा आसपासका बासिन्दालाई बाढी र डुबानबाट सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ । आज बिहान ६ बजे जारी गरिएको सूचनामा भनिएको छ, ‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अतिभारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अतिउच्च सतर्कता अपनाऔँ।’
यता काठमाडौं उपत्यकामा दिउँसो हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको बताइएको छ ।
मौसम महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टा अर्थात शनिबार बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।


















