काठमाडौं । झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रिबस भरतपुरको दासढुंगामा दुर्घटना भएको छ ।
बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस बिहान सवा ५ बजेतिर भरतपुर–२९ दासढुंगा मदन भण्डारी पार्कनजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बस सडकबाट करिब १० मिटर तल रुखमा अड्किएको प्रहरीले जनाएको छ । रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्न भने जोगिएको बताइएको छ ।
बसमा सवार करिब ४० यात्रुमध्ये १९ जना घाइतेलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पताल पठाइएको जिप्रकाले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले बताइएको छ ।


















