काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए । उनले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे । उनले दुर्गम क्षेत्रमा विमानस्थलहरु बने पनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए ।
दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उनको भनाई छ । उनले नेपाल वायु सेवा निगमले तिनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको पनि जानकारी गराउए । उनले कुन प्रक्रियाबाट खरिद गर्ने भन्ने कुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

























