काठमाडौँ । श्रीलंकामा आज (बिहीबार) बाट एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप २०२३ प्रतियोगिता सुरु हुँदैछ ।
प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का दुई खेल हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा श्रीलंका ‘ए’ ले बंगलादेश ‘ए’ को सामना गर्दै छ । खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा हुँदैछ ।
त्यस्तै, दोस्रो खेलमा अफगानिस्तान ‘ए’ र ओमान ‘ए’ भिड्दै छन् । खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा हुनेछ । दुवै खेल नेपाली समय अनुसार बिहान सवा १० मा सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेको नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्नेछ । नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।
दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
अघिल्ला संस्करणमा एसिसीले टेस्ट राष्ट्रका यू-२३ टिमलाई सहभागी गराउने गरेको थियो। यसपटक भने टेस्ट राष्ट्रसहितका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएका छन्। यो प्रतियोगिताका कुनै पनि खेललाई एकदिवसीय खेलको मान्यता हुनेछैन ।