काठमाडौं । यही असार ३० गते नेकपा एमालेको सचिवालय वैठक बस्ने भएको छ । पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने गौतमले बताएका छन् ।
बुधबार अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरुसँग पार्टी गतिविधिबारे छलफल गरेका थिए । अध्यक्ष ओलीले उपाध्यक्षहरुसँग पार्टीको गतिविधि र आगामी बस्ने सचिवालय बैठकको तयारीलगायतका विषयमा छलफल गरेको गौतमले जानकारी दिएका छन् ।
छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए । वैठकमा महासचिव शंखर पोखरेल पनि सहभागि थिए ।
वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्नेगरी जिम्मेवारी दिइएको थियो । त्यसको पछिल्ला गतिविधिबारे अध्यक्ष ओलीले चासो राखेको बताइएको छ ।