काठमाडौँ । सातै प्रदेशमा बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अहिले बिहान पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् ।
दिउँसो र राति पनि वर्षाको सम्भावना रहेको वताउँदै उनले बिहीबार र शुक्रबार व्यापक वर्षा हुने देखिएकाले सतर्क हुन आग्रह गरेकी छिन् ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका एक/दुई ठाउँमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । अनि मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी पनि आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले शुक्रबार बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको र मधेश प्रदेश, कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने चेतावनी दिइएको छ ।
हावाहुरी, भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।




















