काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने कोशीका केही जिल्लामा भारी वर्षा भएका कारण सतर्क हुन महाशाखाले जनाएको छ ।
सुनसरीका तरहरा र धरान तथा मोरङको हरैँचा आसपास भारी वर्षा भइरहेकाले नदी क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहेकाहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज बिहान ८ बजे सूचना जारी गर्दै विभागले भनेको छ– ‘पछिल्लो १–३ घण्टामा सुनसरीको तरहरा, धरान र मोरङको हरैँचा आसपास भारी वर्षा भईरहेकाले उक्त स्थान भई बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।’
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।


















