काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको छ । दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकैको स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर राखिएका छन् ।
सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा शवहरुकाे संकलन काम भइरहेको र मौसम अनुकूल भएपछि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
त्यसैगरी दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।
मंगलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले यस्तो बताएका हुन् ।
मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको बताइएको छ । मन्त्री किराँतीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए । उनले सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताए ।
सञ्चारकर्मीहरुको प्रश्नमा फरक प्रसंगमा मन्त्री किराँतीले वर्तमान गठबन्धन सरकार आलोपालो गरेर सम्झौताअनुसार ५ वर्ष नै टिक्ने दाबी गरे । उनले सरकार छोडेर भाग्ने सुविधा कसैलाई नरहेको जिकिर गरे ।

























