काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ। अहिले दुर्घटनास्थलमा केही स्थानीहरू पुगेका छन् । घटनास्थल पुगेका स्थानीय जीवन विकले हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव फेला पारेर निकालिएको जानकारी दिए ।
शवको पहिचान भइसकेको छैन । बिहान सम्पर्कविहीन भएको हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना म्याक्सिकन नागरिक सवार छन्। ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए ।
हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन् । उनीहरू सबै म्याक्सिकन नागरिक हुन् ।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो ।

























