काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरवौंको दायित्व थपिएको बताएका छन् । नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले प्राप्त नहुने स्रोत देखाएर आयोजना सुरु गर्दा अरवौंको दायित्व थपिएको बताएका हुन ।
स्रोत सुनिश्चित भएका बहुवर्षिय आयोजनाहरुको व्यापक दुरुपयोग हुने गरेको भन्दै उनले आफु मन्त्रालय आएपछि यसलाई अनुशासनमा ल्याउन खोजेको बताएका छन् । उनले यसअघिका दिनमा सुरु गरिएका आयोजनाहरुलाई अघि बढाउनुपर्ने भएकाले अहिले खर्च व्यवस्थापनको ठूलो चाँप देखिएको धारणा राखेका छन् ।
अर्थमन्त्री महतले राजस्व लक्ष्यभन्दा कम उठेकाका कारण त्यसको असर आगामी बर्षको बजेटमा देखिएको जिकिर गरेका छन् । उनले पब्लिक क्याम्पस ठूलो संख्यामा देशैभर फैलिएको र पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन श्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने बताएका छन् ।
उनले पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रम एक हदले रोकेको बताएका छन् ।