काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ । आज बिहान ११ः ०१ बजे बोलाइएको बैठक एक दिन पछि सरेको हो । विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका वैठक सारिएको सूचनामा जनाइएको छ ।
गत सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली गएको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा र प्रतिनिधिसभा वैठक अवरुद्ध गर्दै आएको छ ।
दाहालको अभिव्यक्तिले मुलुकको सार्वभौमसत्ता र सदनको गरिमामा आँच पुर्याएको भन्दै उनले राजीनामा दिनुपर्ने माग राखेर सदन अवरुद्ध गरेको हो । प्रतिनिधिसभाका प्रतिपक्षी दल रास्वपा र राप्रपाले पनि प्रधानमन्त्रीको सो अभिव्यक्तिको आलोचना गरेका छन् । सत्ता पक्षका केही सांसदहरुले भने प्रधानमन्त्रीको बोली र एमालेको व्यवहार दुवै गलत भएको टिप्पणी गरेका छन् ।