भारतमा भारी वर्षा, बाढी र बादलले दिल्लीदेखि सिमलासम्मको जनजीवन प्रभावित भएको छ। दिल्लीमा आइतबार बिहान ८ बजेसम्म २४ घण्टामा १५३ मिलिमिटर वर्षा भएको छ। जुन ४१ वर्षअघि सन् १९८२ जुलाई २५ मा भएको वर्षापछिको उच्च हो । त्यसबेला १६९.९ मिलिमिटर वर्षा भएको थियो ।
अविरल वर्षापछिको बाढी पहिरोले हिमाचलमा ११, उत्तर प्रदेशमा ८, उत्तराखण्डमा ६, दिल्लीमा ३, जम्मु–कश्मीर, हरियाणा र पञ्जाबमा २–२ जना गरी ३४ जनाको मृत्यु भएको छ।
अविरल वर्षाका कारण गएको २४ घण्टामा पहिरो, चट्याङ, बाढीले घर भत्किएर उनीहरुको मृत्यु भएको छ।
पहाडी राज्यहरूमा पहिरोले सडकहरू भग्नावशेषमा परिणत भएका छन् भने राजधानी दिल्लीलगायत समतल राज्यका सडकहरू पानीमा डुबेका छन्। जसकारण सवारी अवागमन नराम्ररी प्रभावित भएको छ। दिल्लीमा यमुनाको पानी खतराको स्तर नजिक पुगेको छ।
मनाली–लेह, चण्डीगढ–मनालीलगायत पाँच राष्ट्रिय राजमार्ग, ७३६ सडक पहिरोका कारण बन्द भएका छन् । सम्पदा कालका–शिमला ट्र्याकमा भग्नावशेष खसेपछि रेल अवागमन रोकिएको छ ।
दिल्लीमा यमुना नदीको पानी खतराको निशान नजिक पुगेको छ । राति ९ बजे पुरानो रेलवे पुलमा पानी २०३ दशमलव ६२ मिटर उचाइमा थियो जुन रातो चिन्हभन्दा १ दशमलव ७१ मिटर तल थियो । यमुनानगरको हथिनीकुण्ड ब्यारेजबाट लगातार पानी छोडेपछि दिल्ली सरकारले बाढीको चेतावनी जारी गरेको छ । हालसम्म एक लाख क्युसेकभन्दा बढी पानी छोडिएको छ।