काठमाडौं । सोमबारदेखि वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताएकी छिन् । उनका अनुसार आजदेखि बुधबारसम्म देशभर मौसम बदली (बादल) र वर्षा बढ्ने सम्भावना देखिएको छ ।
आज विहानैदेखि कोशी प्रदेश, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।
‘विगत १२ घण्टामा दोलखामा भारी ६३ मिलिमिटर वर्षा भएको छ’, उनले बताएकी छिन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारसम्म सबै प्रदेशमा वर्षा हुनेछ। त्यसअन्तर्गत आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस क्रममा कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
यसैगरी राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षा वढ्दै गएपछि खोलाकिनार, जोखिमयुक्त पहाडलगायतमा बसोवास गर्नेहरुलाई सतर्क हुन आग्रह गरिएको छ ।


















