काठमाडौं । ठूला तीन दलका शीर्ष नेताहरुबीच सिंहदरवारमा छलफल सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता शुरु भएको हो ।
प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमालेले बुधबारदेखि निरन्तर सदन अवरोध गरेपछि त्यसको समाधानबारे छलफल गर्न नेताहरु जुटेका हुन ।
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । एमाले प्रधानमन्त्रीको राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा छ भने सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।
दुवै पक्ष आआफ्नो अडानमा रहेपछि सभामुख देवराज घिमिरेले वार्ताबाट समस्या समाधान नभइ बैठक अघि नबढ्ने दलहरूलाई जानकारी गराएका छन् । उनले वार्ताबाट समस्या हल गरेर सदन सुचारु हुने वातावरण बनाउन प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहालले सोमबार किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले पटकपटक दिल्ली धाएको र यहाँका पार्टीहरुसँग पनि छलफल गरेको भन्ने अभिव्यक्ति दिएका थिए । दाहालको सो अभिव्यक्तिले नेपालको स्वाभिमान, स्वतन्त्रता र सदनको गरिमामा आँच आएको भन्दै उनले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।