काठमाडौँ । आज सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा विहानैदेखि हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज सबै प्रदेशमा पानी पर्ने सम्भावना छ भने भोलिबाट वर्षा अलि बढ्ने सम्भावना छ ।
‘आज न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण छ, त्यसैले हिजोअस्तिभन्दा वर्षा अलि कम हुने सम्भावना छ’, मौसमविद् महर्जनले भनिन्, ‘भोलिचाहिँ यो रेखा सरदर स्थानभन्दा उत्तर आउने भएकाले वर्षा बढ्ने सम्भावना देखिएको हो ।’
यसैबीच आज काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको छ ।
अहिले मनसुनी रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ छ र त्यो उत्तरतिर सर्ने क्रममा छ । मौसमविद महर्जनका अनुसार मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाशको क्षेत्रलाई बुझिन्छ । त्यो रेखा उत्तरतर्फ सर्यो भने नेपालमा बढी पानी पर्दछ ।
महाशाखाका अनुसार सोमबारदेखि देशभर सामान्य पूर्ण बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
वर्षाको समयमा बाढी, पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।




















