काठमाडौं । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री भएका उद्धव थापाको नियुक्ति संविधान विपरीत भएको दाबी गर्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनाइ हुँदै छ ।
निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतमलगायतलाई विपक्षी बनाइएको छ ।
अघिल्ला मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत गुमाएपछि थापाले सभामुख गौतम समेतको मत जोडी मुख्यमन्त्रीमा गरेको दाबी पेश अनुसार प्रदेश प्रमुख खापुङले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।
संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरीत भएको तर्क गर्दै एमाले सर्वोच्च अदालतमा पुगेको हो ।
कार्कीले थापाको नियुक्ति खारेज गरी ठूलो दलको संसदीय दलको नेताको नाताले आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेश माग गरेका छन् ।