विराटनगर । मोरङको लेटाङ र कानेपोखरीमा सवारी दुर्घटना हुँदा शुक्रबार राति एक बालिकासहित तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
लेटाङ-कानेपाखरी सडकखण्डअन्तर्गत लेटाङ नगरपालिका-३ मा अटो टेम्पोलाई बोलेरो गाडीले ठक्कर दिँदा बालिकासहित दुई जनाको मृत्यु भएको छ । लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ ह १३१२ नम्बरको अटोलाई लेटाङतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ४१७३ नम्बरको बोलेरोले शुक्रबार साँझ ७:४५ बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा अटो चालक कानेपोखरी गाउँपालिका-६ का अन्दाजी ३५ वर्षीय सागर तामाङ र ८ वर्षीया बालिका रोशनी मगरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका तामाङको उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
घाइते बालिकाको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा राति ९:४० बजेतिर मृत्यु भएको डीएसपी दाहालले बताए । उनका अनुसार दुर्घटनामा परेर बालिकाकी आमा अन्दाजी ३५ वर्षीया टीका आलेमगर घाइते भएकी छन् ।
उनको गोल्डेनमै उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) विकाश थपलिया नेतृत्वको टोलीले घटनास्थलबाट उद्धार गरेर घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याएको थियो।
प्रहरीले बोलेरो र चालक लेटाङ-६ का अन्दाजी ४१ वर्षीय सन्तोष घिसिङलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको छ। दुर्घटनामा परेका दुवै सवारीसाधनमा क्षति पुगेको छ। बोलेरो चालकको लापरबाहीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यस्तै, कानेपोखरी-७ आइतबारेमा मोटरसाइकल दुर्घटना हुँदा चालक सिरहाको लाहान नगरपालिका घर भएका अन्दाजी २५ वर्षीय सन्तोष भुजेलको मृत्यु भएको छ। दुर्घटनामा लाहानकै अन्दाजी ३० वर्षीय वीरेन्द्र मगर घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश २-०१-००३ प ४९३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति ११:३० बजेतिर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा मृत्यु भएको डीएसपी दाहालले बताए । दुर्घटनामा परेर घाइते भएका मगरलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।























