काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले संगठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर देखिएको बताएका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले प्रधानमन्त्री र गृहमन्त्रीबाट हुने निर्देशकका आधारमा अहिले हरहिसावले संगठन रुपान्तरणको उपयुक्त अवसर भएको बताएका छन् । अहिले राजनीतिक नेतृत्वबाट प्रहरी सङ्गठन काम गर्न राम्रो वातावरण तयार भएको उनको भनाइ छ ।
महानिरीक्षक कुँवरले साधनश्रोतको कमी र राष्ट्रको ढुकुटी रित्तिएका बेला चुनौती भने विद्यमान नै रहेको उल्लेख गरेका छन् ।
वर्तमान समयमा गृह मन्त्रालयको नेतृत्व आक्रामकरुपमा लागे पनि अन्य क्षेत्रबाट विविध सीमाका कारण पनि अपेक्षा पूरा हुन नसकेको उनले बताए । उनले प्रहरी समायोजनको विषय सरकारको नीति तथा कार्यक्रममा नै रहेको र सरकारको निर्देशन बमोजिम गम्भीरतापूर्वक अघि बढाउने जानकारी दिएका छन् ।
महानिरीक्षक कुँवरले सेवा प्रवाहमा सहजता गर्नका लागि जिल्ला जिल्लाबाट साइबर अपराधको मुद्दा अघि बढाउन सरकारले आवश्यक निर्णय गरेको बताएका छन् ।
उनले आइटीसँग सम्बन्धित प्रहरीलाई तालिम दिलाएर आवश्यक प्रक्रिया अघि बढाउन लागिएको पनि जानकारी दिएका छन् ।


















