विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले नेपाली कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेपछि विवादमा परेका छन् ।
विहीबार आफ्नो पदीय निष्पक्षता गुमाउँदै मुख्यमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेका सभामुख गौतमले शुक्रबार बिराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै अप्ठ्यारो अवस्था आए पदबाट राजीनामा दिने बताएका छन् ।
उनले भनेका छन् – ‘गठबन्धनको सरकार बनाउन मैले हस्ताक्षर गरेको हो । मलाई कसैको दबाब थिएन। आफ्नै इच्छाले हस्ताक्षर गरेको हुँ । यदि हस्ताक्षर गरेकै कारण कुनै अप्ठ्यारो आएमा नैतिकताको कुरा आउँछ, म राजीनामा दिन सक्छु ।’
उनले संसदीय इतिहास पक्ष र विपक्षकै रहेको बताउँदै भने, ‘मैले सदनमा रहँदासम्म निष्पक्ष भूमिका खेल्छु । यदि त्यो हुन सक्ने अवस्था आएन भने साँच्चिकै अफ्ठ्यारो भए राजीनामा दिन्छु ।’
उनले आफ्नो कदमलाई लिएर नैतिक प्रश्न उठ्न थाहा भएपनि डेड लक तोड्न हस्ताक्षर गरेको बताएका छन् ।
सरकार बन्नै नसक्ने अवस्थालाई किनारा लगाउन आफूले हस्ताक्षर गरिदिएको बताउँदै उनले भनेका छन् ‘म सदनको अध्यक्षको नाताले पक्ष र प्रतिपक्षलाई मिलाएर जाने दायित्व मेरो थियो । एकातिर हस्ताक्षर गर्न नपरोस् भन्ने चाहनना थियो । तर निकास त दिनुपर्यो । निकासका लागि मैले गठबन्धनको पक्षमा हस्ताक्षर गरेँ ।’
९३ सदस्यीय कोशी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी मिल्दा पनि सरकार बनाउन ४६ मात्रै सांसद पुग्थे । बहुमतका लागि ४७ जना सांसद चाहिने अवस्थामा माओवादीबाट प्रदेशसभामा विजयी ओखलढुंगाका गौतमले हस्ताक्षर गरिदिएका हुन् ।
उनको हस्ताक्षरले बहुमत अर्थात ४७ सांसद पुगेसँगै कोशीमा कांग्रेस नेता उद्धव थापाले मुख्यमन्त्रीको शथप लिइसकेका छन्। उनले जसपा र एकीकृत समाजवादीका एक एक सांसदलाई मन्त्रीमा नियुक्त पनि गरिसकेका तर मन्त्रालयको जिम्मेवार दिइएको छैन ।

















