विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विपक्षी दल राप्रपा सर्वोच्च अदालत जाने भएका छन् ।
संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति भएका कारण यो नियुक्तिविरुद्ध सर्वोच्चमा निवेदन दिने नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन् ।
उनले आज सभामुखको समर्थनमा सरकार गठन हुनु गलत गलत भएका कारण उत्प्रेशणको आदेशबाट बदरगरी पाउ भन्दै सर्वोच्च जाने बताएका छन् ।
बिहीबार सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमतको सरकारमा दाबी गरेको थियो ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुख बाहेक सत्तारुढ गठबन्धनमा ४६ जना मात्रै सांसद छन् ।
सभामुखलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । उनले शुक्रबार बिहान सपथग्रहण गरी कार्यभार सम्हालेका छन् ।
सभामुख बाबुराम गौतमले भने आफूले राजनीतिक निकास दिनका लागि हस्ताक्षर गरेको बताउँदै अप्ठ्यारो भएमा राजीनामा दिन तयार रहेको बताएका छन् ।