काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा थप चार जना पूर्वसचिवसहित ४०६ जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति (पुर्जी) लिइएको छ ।
सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको आरोपमा तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालबाट पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन् ।
पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत भएका दीप बस्न्यात फरार छन् ।
ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो ।
प्रहरीका एक अधिकृतका अनुसार पक्राउ अनुमति (पुर्जी) लिइएका ४०६ जना मध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको छ ।
यसैबीच उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानमा सरकार निर्भिकतापूर्वक अघि बढ्ने बताएका छन् ।
अनुसन्धान गरिरहेको प्रहरीलाई पनि दोषी नउम्किन् र निर्दोष नफसुन् भनेर निर्देशन दिइएको उनले जानकारी दिएका छन् ।
आज काठमाडौंको एक कार्यक्रममा मन्त्री श्रेष्ठले अनुसन्धानको क्रममा कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर आफूलाई सोध्न नपर्ने भनेर प्रहरीलाई भनेको बताएका छन् ।




















