काठमाडौं । बुधबारदेखि अवरुद्ध संसद खुलाउने पहलका लागि सभामुख देवराज घिमिरेले आज बिहानैदेखि नेताहरुसँग भेटघाट र संवाद सुरु गरेका छन् ।
सत्ता गठबन्धनको हिजो बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १८ मा दिएको अभिव्यक्तिबारे संसदमा प्रष्ट पार्ने निर्णय गरेको थियो ।
तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले जवाफ होइन, राजीनामा दिनुपर्छ भनिरहेको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । सहज रुपमा वैठक संचालनका लागि सभामुख घिमिरेले आज विहान आफ्नै निवासमा संसदमा रहेका सबै दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर छलफल गरेका थिए । सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार संसद अवरोध निरन्तर हुँदा जनतामा राम्रो सन्देश नजाने भनी घिमिरेले दलहरुको ध्यानाकर्षण गराएका छन् ।
आजको वैठकमा सरकारले मिटरब्याज सम्बन्धी विधेयक पेश गर्ने कार्यसुचि रहेको छ ।
सभामुख घिमिरेले संसद अवरुद्ध नहोस भनेर शीर्ष नेताहरुलाई भनेको उनको सचिवालयले जनाएको छ । शीर्ष नेताहरुको संवाद सकिएपछि फेरि राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने तयारी सभामुख घिमिरेले गरेको बताइएको छ । सभामुख घिमिरेले दिउँसो साढे १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन नेपालमा बस्दै आएका भारतीय व्यवसायी सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी दलहरु राप्रपा र रास्वपाले चर्को विरोध जनाएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरिएको, स्वाभिमान र सार्वभौमसत्तामा आँच पुगेको आरोप विपक्षी दलहरुका साथै वुद्धिजीवी, सर्वसाधारणहरुले लगाएका छन् ।



















