काठमाडौँ । आज देशभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अझै कम्तीमा ३ दिन देशभर मौसम बदली र वर्षा जारी रहने सम्भावना देखिएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको तराईसहित केही भूभाग, बागमती र कर्णालीका एक÷दुई स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ भने देशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
आज राति देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले भारी वर्षा, मेघगर्जन÷चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



















