काठमाडौं । नेकपा एमालेसहित विपक्षी दल राप्रपा र रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेपछि छलफल गर्न सत्तारुढ दलको बैठक बसेको छ। सरकारमा सहभागि ७ दलको बैठक वालुवाटारमा बसेको हो ।
प्रधानमन्त्री दाहालले देशको स्वाभीमानमा आँच आउने गरि खेदपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेसहित राप्रपा र रास्वपाले उनको राजीनामा नआएसम्म संसद् चल्ने नदिने अडान राखेपछि सत्तारुढ दलको वैठब बसेको हो ।
सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका शीर्ष नेता सहभागी छन् ।
बुधबार संसद बैठकमा बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालले देशको स्वाभीमानमा आँच आउने गरि खेदपूर्ण अभिव्यक्ति दिएको विषय गम्भीर रहेको बताएका थिए भने एमाले अध्यक्ष केपी शर्मा ओलीले अब प्रधानमन्त्रीले संसदमा जवाफ होइन, राजीनामा दिनुपर्ने बताएका थिए ।
भारतको इसारामा प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्ति सामान्य विषय होइन नभएको बताउँदै सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको भावनामा आघात पुगेको बताएका छन् । उनले प्रधानमन्त्री दाहालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छ ।
प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई सत्तारुढ दलका सांसदले समेत विरोध गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्ति जनक रहेको बताएका छन् । प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुने बताउँदै बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो । मित्र राष्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रधानमन्त्रीकै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो। प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ।’
सत्तारूढले नै प्रश्न गरेको बताउँदै उनले प्रतिपक्षको त मुल कर्तव्य भएको बताएका छन् ।
शर्माले आलोच्य अभिव्यक्तिको आलोचना जरुरी भएको बताएका छन् । मिटर ब्याज पीडितहरुलाई न्यायदिन ल्याइएको ‘केही नेपाल ऎन संशोधन गर्ने विधेयक’ पारित हुन दिएर मात्र अवरोध गरौं भन्ने बुद्धिमत्ता कुनैपनि विपक्षी दलमा नदेखिएको उनको भनाई छ ।
त्यस्तै कांग्रेसका सांसद उदयशम्शेर राणाले पनि अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा आएर जवाफ दिनुपर्ने बताएका छन् । राणाले प्रधानमन्त्रीको अभिव्यक्तिमा तर्क वितर्क गर्नुभन्दा पनि संसदमा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताएका छन् ।
के भनेका थिए प्रधानमन्त्री दाहालले ?
गत सोमबार नेपालमा लामो समयदेखि बसेका भारतीय व्यापारी प्रितम सिंहका बारेमा उनकै छोरीले लेखेको पुस्तक विचोचन तथा सिंहको जन्मदिनका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए ‘यो यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुची राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो । काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो । उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ। म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट, हुन त हाम्रो कमरेड पम्फा भुसाल हुनुहुन्छ उहाँको नजिकै घर भएका हुनाले पनि लगातार अन्तर्क्रिया, सहकार्य हुने गर्यो । र हामीले नजिकबाट एक अर्काले चिन्ने, बुझ्ने र महसुस गर्ने पनि गर्यौ ।”
प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर एमालेले बुधबार राष्ट्रियसभा बैठक पनि अवरोध गरेको थियो ।