विराटनगर । नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री दावी पेश गर्न आजसम्मको समयसीमा दिइएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा बिहीबार अपरान्ह ५ बजेसम्म छ ।
कांग्रेस–माओवादी गठबन्धनमा आवद्ध दलहरुबीचको सहमति अनुसार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने छन् । तर उनका लागि आवश्यक ४७ मत नपुग्ने भएपछि कांग्रेस–माओवादी केन्द्र गठबन्धनले माओवादीबाट राजीनामा दिएका सभामुखलाई समेत जोडेर सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेको छ ।
गठबन्धनका नेताहरुले अहिले पनि ६ सांसद भएको राप्रपाको समर्थन जुटाउने प्रयास गरिरहेका छन् । तर सहमति जुट्ने सम्भावना न्यून देखिन्छ । राप्रपा संसदीय दलका नेता भक्ति सिटौला गठबन्धनमा आवद्ध दलहरुसँग कुराकानी भइरहे पनि सरकार निर्माणका लागि साथ दिने कि नदिने निर्णय नभएको बताएका छन् ।
९३ सदस्यीय प्रदेशसभा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेसका २९, माओवादीका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका ४ र जसपाका १ प्रदेशसभा सदस्य छन् । अर्थात सभामुखलाई नजोड्ने हो भने चार दलसँग प्रदेशसभाको बहुमत पुग्दैन ।
तसर्थ विपक्षी गठवन्धनले सभामुखलाई पनि जोडेर सरकार गठनका लागि दाबी गर्ने र ३० दिनभित्रमा वहुमत पुर्याउने रणनीतिमा देखिन्छ । वहुमत पुग्ने अवस्था नभएमा मध्यवधि निर्वाचन गर्नुपर्ने अवस्था आए पनि आफ्नै नेतृत्वमा गर्नका लागि सभामुखलाई समेत विवादमा तान्ने काम विपक्षी गठवन्धनले गर्दैछ ।
यता नेकपा एमालेले भने सभामुखलाई सरकार गठन प्रक्रियामा सहभागी गराएर विवादित नबनाउन आग्रह गर्दै संविधानले परिकल्पना नगरेको विषय आफूहरुलाई मान्य नहुने चेतावनी दिएको छ ।
सभामुखलाई प्रयोग गरेर दाबी पेश गरे यो विषय अदालत पुग्ने एमालेका सांसदहरुले बताएका छन् । सभामुखलाई प्रयोग गर्दा प्रदेश प्रमुखले स्वीकृत गर्न नहुने भन्दै एमालेले सभामुखलाई नैतिक संकटमा पार्न काम नगर्न आग्रह गरेको छ ।